दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्रले आयोजना बिहीबार लमहीमा गरेको ‘प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखबीच साझा सवालहरू’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै आचार्यले कृषि नीतिमा प्राथमिकता पाउने तर बजेटमा नपर्ने समस्यालाई अब समाधान गर्दै आगामी वर्षदेखि सुनिश्चित बजेट व्यवस्था गरिने स्पष्ट पारे ।

उनले तीन तहका सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। “तीन तहका सरकारको ध्यान पूर्वाधारमै सीमित भयो । अब जनतालाई उत्पादनसँग जोड्ने गरी कार्यक्रम बनाउनु आवश्यक छ”, उनले भने, “गरिबीको रेखामुनि रहेका नागरिकको जीवनस्तर माथि उठाउन संयुक्त कार्यक्रम आवश्यक छ ।”

प्रदेश र स्थानीय सरकारबीचको सम्बन्धलाई अझ नजिक बनाउने प्रयास भइरहेको बताउँदै मुख्यमन्त्री आचार्यले साझा कार्यक्रमको विकासमार्फत अघि बढ्ने लक्ष्य रहेको बताए । उनले साझा लक्ष्यहरूमा समृद्ध लुम्बिनी निर्माण, सेवा प्रवाहलाई चुस्त बनाउने र जनताको जीवनस्तर सुधार गर्ने विषयहरू रहेका स्पष्ट पारे ।

“तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ । वर्तमान सरकार सहकार्यमा अनुदार छैन । जनताको आशा र भरोसाको सरकारका रूपमा स्थापित हुन सफल भएका छौं । सरकार निरन्तरता प्राप्त उत्तराधिकारी हो”, उनले भने, “विगतका वर्षमा बजेटको आकार बढाउँदा विकृति बढ्यो । अब प्रदेश सरकारले घाटाको बजेट नल्याउने प्रण गरेको छ । अधुरा योजनाहरू सम्पन्न गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउँछौं ।”