काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) बारे छलफल गर्न तीन ठूला दलका शीर्ष नेताको बैठक आज बस्दैछ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुन लागेको हो।

बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ। प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले चैत ६ गते टीआरसीको विषयमा प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेकी थिइन् । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको तर पटक पटक प्रयास गर्दा सम्पर्क नभएको जवाफ दिएका थिए। यसअघि टीआरसीको विषयमा छलफल गर्न चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल खुमलटार पुगेका थिए।

ऐन बनेको सात महिना हुँदासमेत आयोग गठन प्रक्रिया अगाडि बढेको छैन । प्रमुख तीन दलबिच ऐनका विषयमा सहमति भएपछि गत ३० साउनमा प्रतिनिधिसभाबाट र ६ भदौमा राष्ट्रिय सभाबाट पारित विधेयक १३ भदौमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । संक्रमणकालीन न्यायको टुंगो नलाग्दा दश वर्षसम्म चलेको सशस्त्रमा पीडित भएका द्धन्द्ध पीडितहरुले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।