तुलसीपुर । तुलसीपुरमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।

तुलसीपुरबाट शीतलपुरतर्फ जाँदै गरेको रा ३ प २५३४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा २ प ५२८४ नम्बरको मोटरसाइकल शुक्रबार बिहान ११ बजेतिर तुलसीपुर– ११ उरहरी चोकमा एकआपसमा ठोक्किदा मोटरसाइकल चालक तुलसीपुर १ भम्केका ५६ वर्षीय नेत्रलाल पौडेल, मोटरसाइकल चालक राजपुर ७ का ५० वर्षीय पशुराम साहु र सवार सोही ठाउँका ३५ वर्षका नन्दा पुन मगर घाइते भएका हुन् ।

रा ३ प २५३४ नम्बरको मोटरसाइकल चालक पौडेलको दायाँ हात, बायाँ खुट्टा र मुखमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना बताए ।

रा २ प ५२८४ नम्बरका मोटरसाइकल चालक साहुको टाउको, मुख र बायाँ हातमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि सवार पुनको टाउकोमा चोट लागेको छ । घाइते तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । दुबै मोटरसाइकललाई प्रहरी चौकी जसपुरले नियन्त्रणमा दिएको छ ।