इन्द्रेणी संवाददाता
दाङ । जिल्ला अदालत दाङले २४ वर्ष पहिलो हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद फैसला सुनाएका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेहरुमा साविक दाङको हाँसिपुर गाविस वडा नं. १ हालको राप्ती गाउँपालिका ९ घर भई कपिलवस्तु शिवराज नगरपालिका १ बस्ने वर्ष ८१ का जीतबहादुर दमाई र सोही बस्ने ५६ वर्षकी नमी दमिनी रहेका छन् ।
उनी दुई जनाले २०४७ साल फागुन २ गते बच्चा जम्माई हत्या गरी बारीमा खाडलमा पुरेको अभियाग लागेको थियो । उक्त अभियोगमा जिल्ला अदालत दाङले २०५७ असोज ९ गते सर्वस्वसहित जन्मकैद सजायको फैसला सुनाएको थियो । त्यस्तै पुनरावेदन अदालतले २०५९ जेठ ६ गते जन्मकैद २० वर्ष र सार्वेच्च अदालतले २०६१ साउन १४ गते २० वर्ष कैद सदर गरेको थियो ।
अदालतको फैसला भएदेखि नै फरार रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीको टोलीले कपिलवस्तु शिवराज नगरपालिका १ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ गरी उनीहरुलाई जिल्ला अदालत दाङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।











