इन्द्रेणी संवाददाता
दाङ, २१ फाल्गुन – खेलकुदको विकास र प्रवर्द्धनका लागि पूर्वी रुकुम, सिस्ने-२, प्वाङका खेलप्रेमी युवाहरुले ‘रोयल सिस्ने’ खेलकुद क्लब गठन गरेका छन्। क्लबले आफ्नो पहिलो खेल ‘खुमबहादुर खड्का कप’ भलिबल प्रतियोगितामा शानदार डेब्यू गरेको छ।
आज भएको खेलमा रोयल सिस्ने क्लबले मनिमुकुन्द क्लब, बुटवल र दाङ सोसाइटी क्लबलाई सोझो सेटमा पराजित गर्दै आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेको छ। क्लबका कप्तान कपिल बुढाथोकीका अनुसार रोयल सिस्ने क्लबले आगामी दिनमा विभिन्न खेलकुद प्रतियोगितामा सक्रिय सहभागिता जनाउने मात्र नभई खेलाडीहरुलाई आवश्यक प्रशिक्षणसमेत प्रदान गर्ने लक्ष्य लिएको छ।
स्थानीय खेलाडीहरुलाई संगठित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले क्लब गठन गरिएको कप्तान बुढाथोकीले जानकारी दिए। यस कदमले दाङ र रुकुम पूर्वमा खेलकुद गतिविधिलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।











