दिपक बोहरा
तुलसीपुर १६ साउन । बिज्ञान र प्रबिधिको तीव्र विकास भएपनि अझै दाङका धेरै जसो सामुदायिक विद्यालयहरुमा इन्टरनेटको पहुँचमा पुगेको छैन् । बिकास र प्रबिधिको हिसाबले सुगम मानिएको दाङमै अझै अधिकांश बिद्यालयमा इन्टरनेट जडानको पहुँच पुग्न नसकेको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ ।
सरकारले पनि केही बर्षदेखि बिद्यालयमा कम्प्युटर शिक्षा दिन सुरु थालेको छ, कम्प्युटर पनि उपलब्ध गराएको छ, तर इन्टरनेटको बिस्तारमा भने कुनै चासो देखाएको छैन् । कम्प्युटर शिक्षामा ईमेल इन्टरनेटको च्याप्टर हुने भएपनि त्यो च्याप्टर बिद्यालयको किताबमा मात्रै सीमित हुने गरेको छ । इन्टरनेटको पहुँचमा नभएका बिद्यार्थीहरुले ईमेल इन्टरनेटको प्रयोगात्मक रुपमा प्रयोग गर्न पाएका छैनन् । ईमेल इन्टरनेटको च्याप्टरको प्रयोगात्मक गर्नलाई सदरमुकाम वा इन्टरनेटको पहुँच पुग्ने ठाउँमा जानुपर्ने ईन्टरनेट नपुगेका बिद्यालयहरुले बताएका छन् ।
अहिले केही सदरमुकाम आसपास तथा दाङमा मुख्य शहर आसपासका बिद्यालयले मात्रै इन्टरनेटको जडान गरेका छन् । शहरी क्षेत्रदेखि बाहिरका कुनै पनि बिद्यालयले अहिले इन्टरनेटको जडान गर्न चाहे पनि सकिरहेका छैनन् । दाङमा साढे ४ सय भन्दा बढि सामुदायीक बिद्यालय भएपनि अहिलेसम्म सदरमुकाम तथा शहरी क्षेत्र आसपासका २२ वटा सामुदायिक बिद्यालयमा मात्रै इन्टरनेट जडान गरिएको छ ।।
