इन्द्रेणी संवाददाता
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्यान देश आर्थिक संमृद्धि र विकासमा भएको बताएका छन् । नेकपा एमाले दाङले आज घोराहीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै मुलुकको संमृद्धि र विकास वर्तमान सरकारको संकल्प भएको बताए ।

‘हाम्रो ध्यान देशको विकासमा छ । यो संकल्प हो, पूरा नगरेर छोड्दैनौं’, ओलीले भने । वर्तमान सरकार मुलुकको स्थायित्वका लागि र देशलाई स्थायित्व दिनका लागि बनेको उल्लेख गर्दै ओलीले कसैले आजै ढल्यो भोलि ढल्छ भन्दैमा नढल्ने र यो सरकार तीनै वर्ष चल्ने दावी गरे ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले संमृद्ध नेपाल सुखी नेपाली एमालेका संकल्न भएको बताए । ‘तपाईँहरु अलमल नगरेर मिसन ८४ मा लाग्नुहोस्, देश बदल्ने अगुवाई गर्ने जिम्मा मेरो हो’, उनले भने । उनले एमाले महासचिव शंकर पोख्रेललाई गएको चुनावमा हराएर दंगाली जनताले ठूलो गल्ती गरेको समेत बताए ।

माओवादी अध्यक्ष प्रचण्डतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीले सेरादरवार खप्लक्कै खानेले भ्रष्टाचार विरोधी अभियान चलाउछु भन्नुको कुनै अर्थ नभएको बताए । उनले माओवादीलाई अब पहिले जस्तो कांग्रेसको काँधबाट फुत्त उफ्रेर एमालेको काँधमा र एमालेको काँधबाट उफ्रेर कांग्रेसको काँधमा जाउला भन्ने नसोच्न समेत चेतावनी दिए ।