दाङ । फागुन १ गतेदेखि तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा आज गायक रमेशराज भट्टराईको प्रस्तुति हेर्न दर्शकहरू उत्साहित देखिए । ‘बहुला गायक’ भनेर चिनिने भट्टराईले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा उपस्थित दर्शकहरू रमाए ।
गायक भट्टराईले ‘बेहुला बनाउँछु, भन्थी बहुला बनाएर गइ’ लगायतका चर्चित गीत गाएर दर्शकलाई झुमाए । भट्टराईको ऊर्जाशील प्रस्तुति र स्टेजमा उनको आकर्षक प्रस्तुतीकरणले माहोललाई झन् रौनकपूर्ण बनायो ।
दोस्रो तुलसीपुर महोत्सव विभिन्न सांगीतिक, सांस्कृतिक तथा व्यापारिक प्रदर्शनीहरूसहित जारी छ । आज चौथो दिन चर्चित गायिक इब्सन सन्ज्याल, बिमता घर्तीको पनि प्रस्तुति रहेको थियो ।
भोलि पनि चर्चित कलाकारका साथ स्थानीय कलाकार पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताए ।
‘महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ । महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् ।
मेला आयोजक तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय उत्पादनको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताए ।
