काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । निमगले डिजेल र मट्टीतेलको भाउ भने घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको भाउमा प्रतिलिटर एक रुपैयाँले बढाएको हो । यस्तै डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर चार रुपैयाँले घटाएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ । पहिलो वर्गका चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६५ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५३ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गका सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५५ रूपैयाँ पर्नेछ । यस्तै तेस्रो वर्गअन्तर्गत पर्ने काठमाण्डौ, पोखरा र दिपायले क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६८ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १५६ रूपैयाँ पर्नेछ ।