बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गरेका छन् । मंगलबार आयोजना स्थलमा पुगेका मुख्यमन्त्री आचार्यले कामको प्रगतिबारे जानकारी लिएका थिए।

प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा प्राथमिकताका साथ अघि बढाएको यस आयोजनाको निर्माण कार्य निर्धारित समयभित्र सम्पन्न गर्न सरकारले निगरानी बढाएको छ । ‘विशेषगरी, यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले जुन लक्ष्य र उद्देश्य बोकेर यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ, यसले समग्र प्रदेशको विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ’ मुख्यमन्त्री आचार्यले भने, ‘कुनै पनि अवस्थामा काममा समस्या नआओस् भन्नका लागि सरकारले विशेष ध्यान दिएको छ ।’

प्रदेश सरकारले चालु आर्थिक वर्षमा यो भवन निर्माणका लागि एक अर्ब ८० करोड बजेट विनियोजन गरेको छ । आयोजना स्थलको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक ढंगले अघि बढिरहेको बताउनुभयो । ‘यही हिसाबले काम अघि बढ्यो भने तीन वर्षभित्र भवन सम्पन्न हुनेछ भन्ने आशा जागेको छ’ मुख्यमन्त्री आचार्यले भने, ‘यही आर्थिक वर्षमा २८ प्रतिशतसम्म काम सम्पन्न गर्ने रिपोर्टिङ प्राप्त भएको छ । हालसम्मको कामलाई मूल्यांकन गर्दा सन्तोषजनक देखिएको छ ।’

अस्पताल भवनको गत भदौ १५ गते शिलान्यास गरी प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा भवन निर्माण कार्य थालिएको थियो । प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसन सँग २०८० पुस २६ गते भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । शिलान्यास भएको पाँच महिनाको अवधिमा १३ प्रतिशत काम पूरा भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका साइट इञ्चार्ज इञ्जिनियर शंकर सुवेदीले जानकारी दिए । सम्झौता अनुसार १२ तले बन्ने यो भवन २०८५ पुस मसान्तसम्म सम्पन्न हुनुपर्नेछ ।