दाङ । दाङको तुलसीपुरमा खाना पकाउने क्रममा एक जना महिलाको ज्यान गएको छ । खाना पकाउने क्रममा कपडामा सल्किएको आगोले जलेर तुलसीपुर उपमहानगरपालिका १० सक्राम निवासी ६४ वर्षीया इश्वरी वलीको ज्यान गएको हो ।
यही माघ २१ गते बिहान करिब ७ बजेतिर घरमै खाना पकाउने क्रममा वलीले लगाएको कपडामा आगो सल्किँदा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सूर्य राणाले बताए । आगोले वलीको पेटदेखि घुँडासम्मको भाग जलेको थियो ।
घटना लगत्तै तुलसीपुरस्थित चिनारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएकोमा त्यहाँपनि उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको थियो । तर काठमाडौं पनि उपचार सम्भव नभएपछि काठमाडौंबाट सोमबार दाङ फर्काइएको थियो ।
दाङ ल्याएपछि वलीलाई फेरि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । वलीको आज बिहान ७ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।










