इन्द्रेणी संवाददाता
दाङ । दाङमा प्रहरीले दुई जना युवकलाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका वडा नं. ३ घरभई घोराही उपमहानगरपालिका वडा नं. १५ भिमसेन टोलमा डेरा गरी बस्ने १९ वर्षका टेकराज गुरुङ र घोराही १५ भिमसेन टोल घर भएका २५ वर्षका तनुज श्रेष्ठ रहेका छन् ।
यी दुई युवकले लागुऔषधको कारोवार तथा विक्री वितरण गर्दै छन् भन्ने गोप्पे सूचना पाएको प्रहरीले गुरूङ्को कोठालगायत उनी दुबै जनाको शरीरमा खानतलासी लिदा ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुबाट प्लाष्टिकमा पुडिया बनाइ राखेको अवस्थामा १५ थान अर्थात प्लाष्टिकसहित २ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिएका छन् ।
उनीहरुलाई मंगलवार बेलुका लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पछिल्लो समयमा दाङमा विभिन्न व्यक्तिहरु लागुऔषध ब्राउन सुगरसहित पक्राउ हुने क्रम बढेको छ ।
