कृष्ण देव थापा
घोराही, १९ माघ । सभ्यता पाठशालाले भव्य समारोहको आयोजना गरी आफ्नो १२ औँ वार्षिकोत्सव उल्लासमय वातावरणमा सम्पन्न गरेको छ। विद्यालयले विभिन्न सांस्कृतिक तथा शैक्षिक गतिविधिहरू समेटेर वार्षिकोत्सव मनाएको थियो।

विद्यालयका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डि।सी। ले विद्यालयले आफ्नो ‘संस्कार, संस्कृति र सभ्यता’ भन्ने नारालाई व्यवहारमा उतार्दै गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गरिरहेको बताइन्। साथै, उनले भविष्यमा पनि विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिँदै अरू शैक्षिक संस्थाका लागि अनुकरणीय बन्नुपर्ने धारणा व्यक्त गरिन्।
विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको झाँकी सहितको शोभायात्रा गरि शुरुवात गरिएको कार्यक्रममा शोभायात्राले घोराही बजार परिक्रमा गर्दै विद्यालयको सांस्कृतिक पहिचान प्रस्तुत गरेको थियो।

विद्यार्थीहरूले मौलिक कला र संस्कृति झल्किने नृत्य तथा अन्य सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरी दर्शकहरूको मन जितेका थिए। यसैगरी, राष्ट्रिय गान तथा अन्य सांस्कृतिक प्रस्तुतीहरू पनि विद्यार्थीहरूले आपैm बाध्यबाधन बजाएर प्रस्तुत गरेका थिए।

विद्यालयका शैक्षिक निर्देशक केशरमान बुढाथोकीले विद्यालयले छोटो समयमै उत्कृष्ट शैक्षिक लक्ष्य हासिल गर्न सफल भएको बताउँदै आगामी शैक्षिक रणनीतिहरूबारे आफ्ना विचार राखे। विद्यालयका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण विद्यालयका प्रिन्सिपल चेतमान घर्तीले गरेका थिए भने स्वागत मन्तव्य विद्यालयका कोर्डिनेटर पुष्पा तामाङले प्रस्तुत गरे।
सभ्यता पाठशालाले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीलाई संस्कार, संस्कृति र सभ्यताको महत्व बुझाउँदै अगाडि बढिरहेको विद्यालय प्रशासनले जनाएको छ।