तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । आज दाङको तुलसीपुरमा तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
‘प्रदेश सरकारले खेल क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको छ । खेलका विविध विधाहरु छन् । ति विधाहरुलाई समान रुपमा प्रदेश सरकाले प्राथमिकतामा राखेर कार्यक्रमहरुमा जोड दिएको छ’उनले भने, ‘खेल क्षेत्रबाटै देशको नाम चिनाउन सकिएको छ । खेलाडीहरुको आकर्षण बढ्दो छ । सरकारले यो आकर्षणलाई कायम राख्न पूर्वाधार थप गर्ने कुरालाई प्राथमिकतामा राखेको छ भने खेलाडिहरुको क्षमता बढाउने र नियमित प्रतियोगिताको वातावरण तयार पारेको छ ।’
मुख्यमन्त्री आचार्यले खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि तथा नियमित प्रतियोगिताहरूको आयोजना प्रदेश सरकारका मुख्य प्राथमिकताभित्र पर्ने उल्लेख गरे । प्रदेश सरकारले स्थानीय खेल प्रतिभाहरूको पहिचान र उनीहरूको उचित व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन पनि गरिरहेको बताए ।
