उदय बीसी
दाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आगामी २०८४ को निर्वाचन एक्लै लड्ने बताएका छन् । प्रेस सेन्टर नेपाल दाङले शनिवार विहान दाङको घोराही आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डलेआगामी निर्वाचन अरु कसैको खुट्टामा नभई आफ्नै खुट्टामा उभिएर लड्ने बताएका हुन् ।
माओवादी आफ्नै खुट्टामा उभिनै सक्दैन भन्ने भाष्य बनाउन खोजिएको भन्दै प्रचण्डले भने, ‘हाम्रो अहिलेको बुझाई हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्यो र सर्वसम्मत रूपमा निर्णय गरेका छौं, आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने हो, माओवादी आफै एउटा जनक्रान्तिको प्रतिकपनि हो यो परिवर्तनको प्रमुखवहाक पनि हो ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादीको आफ्नै इतिहास भएको र अन्य राजनीतिक दलहरूभन्दा भिन्न पृष्ठभूमिबाट आएकाले अरुभन्दा केही फरक भएको दावी गरे । माओवादी देशका सबै उत्पीडित वर्गको लागि लड्दै आएको बताउदै उनले अहिलेसम्म भएका परिवर्तन सम्भव तुल्याउने उद्देश्यले शान्ति सम्झौतामार्फत अन्य दलहरूसँग सहमति गरेर आएको तर एउटै नभएको तर एउटै ढंगामा भएको बताए ।
अध्यक्ष प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको वेला त्यहाँ हुने सबैखाले सेटिङ् भत्काउने प्रयास गरेको र भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा काम गरेको बताए । ‘मैले गरेको सुशासनको अभियान, आर्थिक संकट समाधान गर्ने अभियान केही मान्छेहरूलाई मन परेन, त्यो अभियानले उनीहरूको स्वार्थमा धक्का लाग्न पुग्यो, एउटा दलालपूँजीपति वर्गको जसले कमिसनकै भरमा अरवौंको चलखेल गर्ने गर्छन् तिनीहरूलाई त्यति चित्त बुझेको थिएन’, उनले भने, ‘मैले उनीहरूले गर्ने सेटिङ भत्काउन खोजेकै हो, तर उनीहरूले अलोकतान्त्रिक र असंवैधानिक तरिकाले संसदको संख्याको भरमा मलाई हटाउने काम भयो ।’
अहिले माओवादी सुशासन, सामाजिक न्याय र आर्थिक विकासको अभियानमा रहेको उनले बताए । कार्यक्रममा अब कम्युनिष्ट एकता सम्भव छ कि छैन भन्ने सञ्चारकर्मीको जिज्ञासाको जवाफमा अध्यक्ष प्रचण्डले आफूले विभिन्न समयमा कम्युनिष्ट एकताका लागि जोखिम मोलेको र सफल हुन नसकेको स्मरण गर्दै २०८४ सम्म एमालेसँगको सहमति सहकार्य सम्भवन नभएको बताए ।
भरखरै भएको पालिकाको उपनिर्वाचनको परिणमले माओवादीलाई फेरि राष्ट्र र जनताप्रति वफादार भएको महसुस बनाएको उल्लेख गर्दै उनले माओवादीले विगतका गल्ती कमजोरी सच्याएर अघि बढेको र सचिएको माओवादीलाई जनताले २०८४ मा बहुमत दिने आशा व्यक्त गरे । अहिलेको सरकार ढले हुन्थ्यो भन्ने आशामा हुनुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले अहिले माओवादी सरकार जाने पक्षमा नभएको बताए ।
‘हामी अहिले सरकारको रूचिमा छैनौं, सरकार फालिहाल्ने हतारमा छौनौ’, उनले भने, ‘तर यो सरकार रहिरहन्छ भन्ने पनि होइन यो सरकार आफ्नो भार थाम्न नसकेर आफै ढल्छ, त्यति लामो समय टिक्दैन ।’ उनले आफू सरकारमा रहेको बेला दाङको समग्र विकासमा पहल गरेको र आगामी दिनमा पनि पहलकदमी रहिरहने बताएका थिए ।
सेन्टरका अध्यक्ष जनक नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष जीवन नेपालीले गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव दीपक बोहराले गरेका थिए ।











