इन्द्रेणी संवाददाता
दाङ । रुखबाट लडेर मृत्यु भएका भनिएका दाङको दंगीशरण गाउँपालिका–२ कौवाघारीका प्रेम बहादुर कुसारीको गोली लागेर मृत्यु भएको खुलेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । घटना शंकास्मद देखिएपछि घटनामा संलग्न भएको आरोपमा दंगीशरण– २ बस्ने २२ वर्षका छविलाल डाँगी र सोही ठाउँकै २७ वर्षका पुष्पलाल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुलाई आज आइतवार जिल्ला प्रहरी कार्यालय दाङमा सार्वजनिक गर्दै प्रहरीले शनिवार नै डाँगीलाई बाँकेको नेपालगञ्ज र बस्नेतलाई दाङको तुलसीपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सनाले बताए । प्रहरीले दंगीशरण गाउँपालिका २ राजाकोेट सामुदायिक वनमा लुकाइ राखिएको अवस्थामा एक थान भरुवा बन्दुक पनि बरामद गरेको छ । मृतक कुसारीको शव भेरी अस्पतालमा पोष्टमार्टम गर्दा उनका खुट्टालगायत शरीरबाट भरुवा बन्दुकका छर्रा फेला परेको प्रहरीले जनाएको छ ।
कुसारीलाई गएको बिहीवार जिंगटको रूखबाट खसेर घाइते भएको भन्दै राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको थियो। उनलाई थप उपचारका लागि नेपालगन्ज लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको प्रारम्भमा कुसारीको मृत्यु रूखबाट लडेर भएको भनी प्रहरीलाई जानकारी गराइएको थियो । छिमेकीको सूचना अनुसार कुसारीलाई गोली हानी हत्या गरिएको हुन सक्ने भनी प्रहरीलाई सूचना भएपछि दाहसंस्कार रोकिएको थियो भने प्रहरी तत्काल घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
