सल्यान । सल्यानमा घर बनाउन खानीबाट ढुंगा निकाल्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ७ स्यानी जिमालका ४४ वर्षीय पोथे बोहराको खानीबाट ढुंगा निकाल्ने क्रममा खसेको ढिस्कोले च्यापिएर मृत्यु भएको हो ।
बिहिबार दिउँसो घरदेखि केही टाढा रहेको सामुदायिक वनमा रहेको ढुंगा खानीबाट एक्लै ढुंगा निकाल्न गएका थिए । साँझसम्म पनि घर नर्फिएपछि खोजतलास गर्ने क्रममा स्थानीयले माथिबाट ढुंगासहितको ढिस्काले च्यापिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी घटनास्थलमा पुगी ढिस्कोले च्यापिएर मृत्यु भएका बोहराको शव निकाली मुचुल्का उठाई पोष्टपार्टमका लागि सल्यान जिल्ला अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले जानकारी दिएका छन् ।











