पोखरा । पूर्वगृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी, पोखराकै रकमबाट गोरखा मिडिया नेटवर्क (ग्यालेक्सी फोरके टिभी) को १५ प्रतिशत सेयर लिएको देखिएको छ । २०७७ साल भदौमा दर्ता भएको मिडियाको पुँजी पाँच करोड रुपियाँ रहेकोमा त्यसको १५ प्रतिशत (७५ लाख रुपियाँ) सूर्यदर्शनबाटै रकमान्तर गरिएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापतिसमेत रहेका लामिछाने गोरखा मिडियाको करिब डेढ वर्ष प्रबन्ध निर्देशक हुँदा सबैजसो कारोबारमा संलग्न भएको पाइएको छ । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्कीमा बुझाएको अभियोगपत्रमा लामिछानेले नै गोरखा मिडियाको ९५ प्रतिशतभन्दा बढी कारोबार गर्ने गरेका प्रमाण संलग्न छन् ।
स्थापना भएको पहिलो दुई वर्षमै १६ करोड रुपियाँ घाटामा रहेको गोरखा मिडियाले कर्मचारीलाई दुई अर्ब ५८ करोड रुपियाँ ऋण तथा पेस्की दिएको छ । रविले डेढ वर्षमा एक करोड चार लाख तलब बुझेको देखिएको छ । कम्पनीले तलबसम्बन्धी शीर्षकको एक करोड ३६ लाख रुपियाँ करसमेत तिर्न बाँकी रहेको संसदीय छानबिन समितिको प्रतिवेदनमा औँल्याइएको छ ।
बयानका क्रममा लामिछानेले सबै आर्थिक कारोबार गितेन्द्रबाबु ९जिबी० राईले गर्ने गरेको जिकिर गरे पनि प्रमाणहरूले त्यसलाई खण्डित गरेका छन् । उहाँले एकल हस्ताक्षरमा मिडियाको कारोबार गर्दै एक हजार २३७ वटा चेक काटेको भेटिएको छ ।
सूर्यदर्शनसहितका सहकारीबाट गोरखा मिडियामा ६५ करोड ५४ लाख रुपियाँ जम्मा भएको देखिन्छ भने ४३ करोड रुपियाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाई मिडियामा पुगेको देखिन्छ । २०७९ साल असार १ गते कम्पनीबाट अलग भएपछि पनि लामिछानेले सञ्चालकका रूपमा हस्ताक्षर गरी ७१ लाख ८० हजार रुपियाँ अरूलाई दिएको र आफूले चेकमार्फत नौ लाख ८५ हजार रुपियाँ लिएको देखिएको छ ।
सूर्यदर्शनबाट ऋण एक करोड, प्रबन्ध निर्देशक हुँदा आएको एक करोड ६२ लाख र स्वेट सेयर दिन जिबीमार्फत गएको ७५ लाख गरी तीन करोड ३७ लाख ६५ हजार रुपियाँको दायित्व पर्ने अभियोगपत्रमा उल्लेख छ । लामिछानेले सूर्यदर्शनमा किस्तै ३१ लाख ३३ हजार रुपियाँ तिर्नुभएको छ ।
अभियोगपत्रमा रविका लागि कुल बिगो २७ करोड ८९ लाख ४४ लाख सात सय पाँच रुपियाँ कायम भएको छ । “आय र सम्पत्तिहरू गोप्य रूपमा घुमाउरो बाटोबाट आफूसम्बद्ध व्यवसाय र संलग्न व्यक्तिहरूको चल, अचल सम्पत्तिमा लगी शुद्धीकरण गरेको,” प्रतिवेदनमा उल्लेख छ । सोही कारण लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र सङ्गठित अपराधमा समेत मुद्दा दायर भएको छ ।
सूर्यदर्शनमा एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपियाँ बिगो कायम भएको छ । रविपत्नी निकिताको नाममा ३५ लाख रुपियाँ र उनको कम्पनी गोपीकृष्ण मुभिजलाई ८१ लाख २५ हजार रुपियाँ गोरखा मिडियाबाट भुक्तानी भएको देखिन्छ । प्रतिवेदनमा भनिएको छ, “आफूसहित खाता सञ्चालक रहेको खातामा के–कसरी कहाँबाट रकम आएको हो भन्ने जानकारी छैन भन्ने विषयले प्रतिवादीको बदनियत देखिन्छ ।”
बयानमा अर्का प्रतिवादी कुमार रम्तेलले एक करोड ऋण लिने पोखरा–८, ठेगानाका व्यक्ति रवि नै भएको दाबी गरेका छन्। पोखरा महानगर मात्र कार्यक्षेत्र भएको सहकारीले बाहिरका व्यक्तिलाई ऋण प्रवाह गर्न नमिल्ने भएकाले फर्जी ठेगाना राखिएको देखिन्छ । कार्यक्षेत्रबाहिरका बासिन्दा देखाई यो सहकारीको स्थापनै ठगी गर्ने नियत र पूर्वयोजनाबमोजिम भएको प्रतिवेदनले औँल्याएको छ ।
सूर्यदर्शनबाट गोरखा मिडियामा पाँच करोड ५८ लाख नौ हजार २७१ रुपियाँ गएको देखिन्छ । लामिछानेले जिबी नेतृत्वको सङ्गठित समूहसँग मिलेर पदाधिकारी एवं प्रबन्ध निर्देशकको हैसियतमा सहकारीको बचत अपचलन गरी प्राप्त रकम प्रयोग गरी कम्पनीको सेयर धारण, कारोबार र लाभ लिएकाले उनीविरुद्ध सङ्गठित अपराधसमेत पुष्टि हुने जिल्ला न्यायाधिवक्ता कमला काफ्ले बताए ।
लामिछानेले सम्पत्तिको सही प्रकृति बदल्ने, सोउपरको अधिकार र स्वामित्व लुकाउने र छल्ने, धारण तथा प्रयोगसमेतका कार्य गरी गराई सम्पत्ति शुद्धीकरणको कसुर अपराध गरेको अभियोगसमेत छ । लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपियाँ बिगो कायम गरी बिगोको दोब्बर जरिबाना माग गरिएको छ । गोरखापत्रबाट











