दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसंँग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोने भेटवार्ता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दै आएको सहयोगको बारेमा छलफल भएको छ ।

मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भर हुने चरणमा रहेकाले यो अवधिमा दातृ निकायहरुको साथ सहयोग आवश्यक पर्ने भन्दै पूर्वाधार देखि सामाजिक क्षेत्रको विकासमा सहयोग आवश्यक परेको बताए । “प्रदेश स्थापना भएर कार्यान्वयनमा आएको भर्खरै ७ बर्ष भएको छ । प्रदेश आत्मनिर्भरताको बाटोमा छ । सबै प्रकारको साथ सहयोग जरुरी छ”, उनले भने, “स्वीस सरकारले गर्दै आएको सहयोगलाइ प्रदेश तहमा निरन्तरता दिन अझै जरुरी छ । झोलुंगे पुल निर्माण, पक्की पुल निर्माण होस । प्राविधिक सहयोगलाई अझै निरन्तरता दिन आवश्यक छ ।”

लुम्बिनी प्रदेश भित्र मानसिक स्वास्थ, मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको समस्या उच्च रहेकाले ती समस्या समाधान गर्न पनि साझेदारी गर्न प्रदेश सरकार तयार भएको जानकारी गराए । साथै लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माण गरेरको र अब त्यसलाई मन्त्रिपरिषद बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लगिने मुख्यमन्त्री आचार्यले जानकारी गराएका थिए ।

मुख्यमन्त्री आचार्यले राखेको प्रस्ताव प्रति राजदुतले सकारात्मक प्रतिक्रिया दिएको भेटमा सहभागी मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रामबहादुर राउतले जानकारी दिए ।