पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर आर्यघाटतर्फ लगिँदै काठमाडौँ, ३ मङ्सिरः पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरको दाहसंस्कारका लागि सोमबार काठमाडौँको ज्ञानेश्वरस्थित सानो गौचरनबाट पशुपति आर्यघाटमा लगिँदै तस्बिरः विमलबहादुर विष्ट÷रासस

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवङ्गत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो ।

पूर्व सभामुख ढुङ्गानाको सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । उपचारका क्रममा ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सांसद तथा विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा सर्वसाधारण आर्यघाट पुगेका थिए ।

ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिएका थिए । सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको थियो ।