हेटौडा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताएका छन्।

मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने बताए।

आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको र दोस्रो पटकमा उज्यालो नेपालको अवधारणा अनुरूप विद्युतभार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे। मैले पहिलोपटक प्रधानमन्त्री हुँदा ऋण मिनाह गरेँ, नेपालको पूर्व–पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएँ, म अझै थाकेको छैन, त्यसैले अझ परिवर्तनको लहर ल्याएर नै छाड्नेछु’, उनले भने। उनले मकवानपुर तथा थाहा नगरका केही विकास योजनालाई प्रभावकारी बनाइने उल्लेख गर्दै धेरै योजना माओवादीकै पहलमा अघि बढिरहेको बताए। रासस