इन्द्रेणी संवाददाता
दाङ । घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित आधारभूत विद्यालय गिठेपानीमा आज शुक्रवार देखि श्रीमद्भावगत ज्ञान महायज्ञ शुरु भएको छ । शिक्षामा सबैको पहुँच बृद्धिका साथै शिक्षा तथा विद्यालयको समग्र गुणस्तर अभिबृद्धिका लागि महायज्ञ शुरु गरिएको हो ।
महायज्ञको उद्घाटन प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष भरतमणि अर्यालको आग्रहमा कार्यक्रममा सहभागी पञ्चकन्याले गरेकी थिइन् ।
उद्घाटन कार्यक्रम अघि विभिन्न संस्कृति झल्कने झाँकीसहितको र्यालीले घोराही बजार परिक्रमा गरेको थियो । महायज्ञ मूल आयोजक समारोह समितिका संयोजक एवं विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा घोराही उप महानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख नारायणप्रसाद पौडेल, महायज्ञका कथावाचक पण्डित अमृतशरण देवाचार्य, मात्रिकाप्रसाद पाण्डे लगाएतकाले भनाइ राखेका थिए । विद्यालयका प्रअ गिरीप्रसाद भट्टराइको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण भरतमणि पौडेलले गरेका थिए ।
महायज्ञ कार्तिक ३० गतेसम्म चल्नेछ । महायज्ञमा मुख्य कथाबाचनमा श्री अमृतशरण देवाचार्य रहेका छन् ।
तस्विर : उदय बीसी/इन्द्रेणी अनलाइन
