काठमाडौँ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै विजयी भएको छ ।
यससँगै नेपालले सिरिज ३–० ले जितेको छ । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । रोमाञ्चक दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा स्तब्ध बनाएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५७ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । नेपालको लागि ओपनर आसिफ शेखले अर्धशतक बनाए उनले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५० रन बनाएका थिए ।
त्यस्तै कुशल मल्लले अविजित ४४, कुशल भुर्तेलले अविजित ४० र ओपनर अनिल शाहले १३ रन बनाउनुभयो । बलिङमा अमेरिकाका जुनोय ड्रेसडाले र जसदीप सिंहले एक एक विकेट लिए ।