दाङ। दाङमा तीन महिनाको अवधिमा मनसुनजन्य विपत्तिबाट करिव दुई करोड ४९ लाख क्षति भएको छ । बाढी, पहिरो र डुबानमा परेर तीन महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा १६६ घरमा क्षति पुगेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख आचार्यका अनुसार यो अवधिमा विभिन्न घटनामा परेर जिल्लामा १३ जनाको मृत्यु भएको छ । जसमा सबैभन्दा धेरै ८ जनाको नदी तथा खोलामा आएको बाढीमा बगेर मृत्यु भएको छ ।

त्यस्तै चट्याङ् लागेर तीन जनाको र सर्पदंशबाट दुई जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लामा प्राकृतिक विपत्तिबाट करिब दुई करोड ४९ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

विगतबाट क्षति भएका अधिकांश घरपरिवार विस्थापित भएको छन् । क्षति भएका घरपरिवारलाई क्षतिको विवरणअनुसार न्यूनतम १५ देखि ५० हजारसम्म र मृतकका परिवारलाई एक लाखका दरले राहत प्रदान गरिएको केन्द्रले जनाएको छ ।

जिल्लामा विपद् व्यवस्थापन कोषबाट क्षति भएका घरपरिवारलाई दुई महिनाको अवधिमा १४ लाख ४० हजार राहत प्रदान गरिएको छ । जसमा घोराहीमा क्षति भएको २६ परिवारलाई तीन लाख ७५ हजार, तुलसीपुरमा एक जना मृतकसहित १४ घरपरिवारलाई तीन लाख ८० हजार, लमहीमा पाँच घरपरिवारलाई ६५ हजार, राजपुर गाउँपालिकामा दुई मृतक परिवारसहित सात घरलाई चार लाख ७० हजार रुपैयाँ राहत प्रदान गरिएको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिकामा पाँच घरपरिवारलाई ७५ हजार, शान्तिनगर र बबई गाउँपलिकामा दुई–दुई घरपरिवारलाई तीस–तीस हजार र दंगीशरण गाउँपालिकामा एक घरपरिवारलाई १५ हजार रुपैयाँ राहत प्रदान गरिएको छ ।