काठमाडौँ । एक हजार पाँच सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप लागेपछि फरार भएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतमा पक्राउ परेका छन् ।
नेपालीलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको हो । पक्राउ पछि उनलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस समेत जारी गरेको थियो ।
उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए ।
यता सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेर अनुसन्धानमा रहेको गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । असोज ६ गते काठमाडौं शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो । असोज ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।