बाँके। बाँकेमा यस वर्षको वडादशैंलाई लक्षित गरेर खसी बोकाको मूल्य निर्धारण गरिएको छ। नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर बाँकेमा रहेका १७ वटा सामाजिक उद्यमी सहकारी र व्यापारीबिचको छलफलपछि खसी बोकाको मूल्य निर्धारण गरिएको हो ।
सामाजिक उद्यमी सहकारीको साझा संस्था सेवा नेपालका अधिकृत गोपी पुडासैनीका अनुसार ३० केजीदेखि ३९.९ केजीसम्मको खसीप्रति केजी ५३० रुपियाँ, ४० केजीदेखि ४९.५ केजी सम्मको खसी बोकाको प्रति केजी ५४० रुपियाँ र ५० केजी भन्दा माथिको खसीको मूल्य ५६० रुपियाँ प्रति केजी मूल्य निर्धारण गरिएको छ। सोही प्रकारले बोकाको मूल्यप्रति केजी ५१० रुपियाँ कायम गरिएको छ। थोक व्यापारी र उद्यमी सहकारी तथा सरोकारवालाको रोहवरमा मूल्य निर्धारण गरिएको हो।











