नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लालपुर्जा बिहिन सुस्ता क्षेत्रका किसानहरुलाई सरकारले छिटो लालपुर्जा दिनुपर्ने बताएका छन् ।

सुस्ताास्थित नारायणी नदीमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन कार्यक्रमलाई आज विहीबार सम्बोधन गर्दै आचार्यले त्यस क्षेत्रमा खेतीपाती गर्दै आएका किसानहरु अहिले पनि जग्गाको लालपुर्जा बिहिन रहेको प्रति नेपाल सरकारको ध्यानाकर्षण गराउदै छिटो लालपुर्जा वितरण गर्न आग्रह गरेका हुन् ।

“अहिले पनि सुस्ताका किसानको हातमा जग्गाको लालपुर्जा छैन । नागरिकताको समस्या उस्तै छ”, मुख्यमन्त्री आचार्यले भने, “यहाँका किसानहरुको समस्या समाधान गर्न म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । प्रदेश सरकारबाट हुने हरेक कामहरुमा सुस्ता क्षेत्र प्राथमिकतामा छ, प्राथमिकतामा पर्ने छ ।”

यस्तै मुख्यमन्त्री आचार्यले नारायणी नदिमा बनेको झोलुंगे पुलले सुस्तामा बसोवास गर्नेहरुलाइ सबै हिसाबले समृद्ध बनाउने आशा व्यक्त गरे । “शिक्षा, स्वास्थ्य, कृषि र अन्य सुविधामा अव सुस्ता क्षेत्र अघि बढ्यो”, उनले भने, “अब सुरक्षित यात्रा सम्भव भयो । अब पर्यटनको क्षेत्रमा पनि यहाँको नाम अघि आउनेभयो ।”

भ्याट बाहेक २० करोड ९३ लाखको लागतमा निर्माण भएको एक हजार ५७१ मिटर लामो उक्त झोलुंगे पुलको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो ।