इन्द्रेणी संवाददाता
दाङ । दाङमा ४५ औं विश्व पर्यटन दिवस २०८१ लाई महोत्सवकै रुपमा मनाइने भएको छ । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाले असोज ११ गते घोराहीमा प्रदेश स्तरको कार्यक्रमको आयोजना गरी महोत्सवकै रुपमा दिवसलाई मनाउन लागिएको हो ।

पर्यटन दिवसको अवसरमा असोज ११ गते जिल्ला समन्वय समिति घोराहीको खुल्ला मञ्चमा भव्य कार्यक्रमको आयोजना गरी मनाइने दिवस मूल समितिले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
‘पर्यटन, न्याय र शान्ति’ भन्ने मुल नाराका साथ मनाइन लागेको दिवस सफल पार्न विभिन्न नौ वटा उपसमिति गठन गरी तयारी गरिएको मूल समितिका संयोजक घोराही उपमहानगरपालिकाका कार्यवहाक प्रमुख हुमाकुमारी डिसीले जानकारी दिएकी छन् । त्यस दिन हुने भव्य कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने छन् ।

महोत्सवमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाकै सहभागिता रहनेछ । महोत्सवमा विभिन्न जिल्लाका पहिचान झक्किने लोक संस्कृतिक झाँकी तथा नृत्यहरू प्रस्तुत हुने कावा. प्रमुख डिसीले जानकारी दिएकी छन् । महोत्सवमा विभिन्न जातजातिका संस्कृति झल्किने झाँकी तथा नृत्य प्रर्दशनी गरिनुका साथै जिल्लाका पर्यटकीय क्षेत्रमा घुमाउने व्यवस्था पनि गरिएको छ ।

औपचारिक कार्यक्रम विहान ११ शुरु हुनेछ भने त्यसभन्दा अघि विभिन्न झाँकीसहितको र्यालीले घोराही बजार परिक्रममा गर्ने छ । कार्यक्रममा लम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानको पनि उपस्थिति रहने आयोजक समितिले जनाएको छ । यहाँको पर्यटन विकास र प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफल पार्न तयारी तिब्र पारिएको प्रचारप्रसार उपसमितिका संयोजक दुर्गालाल केसीले जानकारी दिएका छन् ।