दाङ । लुम्बिनी प्रदेश सभाका कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन् । तिमिल्सिनाले कार्यव्यस्तताका कारण प्रमुख सचेतकबाट राजीनामा दिएको बताएका छन् । तर, तिमिल्सिनाले राजीनामाका कारण कार्यव्यस्तता देखाए पनि मन्त्री पद नपाएपछि राजीनामा दिएको स्रोतले बताएको छ ।
तिमिल्सेनाले साउन २१ गते नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा दिएका थिए । लुम्बिनी प्रदेश सरकारमा सरकारको नेतृत्व तिमिल्सिनाले गर्ने भनिए पनि अन्तिममा मन्त्री बन्ने सूचीबाट उनको नाम हटाइएको थियो ।
नयाँ सत्ता समीकरण अनुसार लुम्बिनी प्रदेशमा कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, दाङका प्रचण्डविक्रम न्यौपाने, प्युठानका सरोज थापा र बाँकेका बादशाह कुर्मी मन्त्री भएका छन् । कांग्रेसको भागमा परेको आन्तरिक मामिला मन्त्रालयमा भने पार्टीले अहिलेसम्म कसैलाई पठाएको छैन । तिमिल्सिना कांग्रेसभित्र संस्थापन पक्षका हुन् ।











