काठमाडौँ । दुई साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लामा २७ जनामा पुष्टि भएको छ । दिसाको माध्यमबाट सर्ने महामारीजन्य रोग हैजा (कोलेरा) पाँच जिल्लामा देखिएको हो ।
काठमाडौँ उपत्यकामा सबैभन्दा बढी बिरामी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो सङ्ख्या प्युठानमा थपिएका दुई समेतको हो ।
महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले आइतबार थप दुई जनामा हैजा पुष्टि भएको जानकारी दिए । सबैभन्दा बढी उपत्यकाको ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भएकामा ती व्यक्ति ललितपुरको एक अस्पतालमा कार्यरत रहेकाले भक्तपुर गणना नगरिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा. घिमिरेले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
