काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताएका छन् । युगकवि सिद्धिचरण श्रेष्ठको एक सय १३ औँ जन्मजयन्ती समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले युगकविका रचनाले क्रान्तिमा होमिएका युवाहरूको उदाहरण दिँदै देश र जनताका लागि आवश्यक पर्दा युवाहरू जोसिनु स्वाभाविक रहेको बताए ।
“जसरी नेपाल अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनुपर्छ, युवाहरू चम्किनुपर्छ”, उनले भने । आफू पनि युगकवि सिद्धिचरणबाट वैचारिक र साहित्यिकरुपमा प्रभावित रहेको बताउदै ओलीले भने “उहाँ मेरो पनि गुरु हो, उहाँबाट म अति प्रभावित छु, उहाँले लेख्नुभएको गीतको प्रेरणाबाट धेरै युवाहरू क्रान्तिमा होमिन र सहिद हुन तयार हुनुभयो । गङ्गालाल श्रेष्ठ पनि उहाँकै गीतबाट प्रभावित भई सहिद हुनुभएको प्रसङ्ग आयो । म पनि क्रान्तिमा होमिएको थिएँ ।”
