काठमाडौं । सरकारले आयोनुनको मूल्य एकैपटक ३० प्रतिशत बृद्धि गरेको छ । जसअनुसार अब प्रतिकेजी नुनको मूल्य ६ रुपैयाँले मंहगो भएको छ ।
नुन आयातको एकाधिकार पाएको सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यसअघि प्रतिकेजी २० रुपैयाँ खुद्रा मूल्य तोकेकोमा अब २६ रुपैयाँ पुर्याएको छ। २० रुपैयाँ खुद्रा मूल्य छँदा नै उपभोक्तालाई २५ रुपैयाँमा बेच्दै आएका व्यापारीले अब बढाएर असुल्ने देखिन्छ ।
साल्ट ट्रेडिङ सञ्चालक समितिको मंगलबारको बैठकले मंगलबारै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि हुने निर्णय गरेको हो । साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले मूल्य समायोजनपछि अब एक केजी प्याकेट आयोनुनको थोक मूल्य २३ रुपैयाँ र उपभोक्ता मूल्य २६ रुपैयाँ पर्ने बताए ।
यसअघि प्रतिकेजी थोक मूल्य १८ रुपैयाँ ५० पैसा र खुद्रा मूल्य २० रुपैयाँ थियो । नुनको व्यापारमा कम्पनीलाई घाटा भएकाले मूल्य समायोजन गरिएको, तैपनि अझै लागतभन्दा बिक्री मूल्य कम नै रहेको राजभण्डारीको दाबी छ ।











