काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तागठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको बताएकी छन् ।

मन्त्रिपरिषदको आजको बैठकपछि सञ्चारमाध्यमसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता परिवर्तन नहुने स्पष्ट पारेको जानकारी दिइन् ।

मन्त्री शर्माले आमसञ्चार माध्यममा आएको कुरा र यर्थाथबारे बैठकमा प्रधानमन्त्रीले ब्रिफिङ गरेको र बाह्य चर्चामा आएका विषय मिडिया ट्रायलका रुपमा आइरहेका बताए ।

“गठबन्धनका दलबिच असमझदारी बढेको बाह्य चर्चा र अफवाह असत्य हुन्, त्यस्तो छैन”, उनले भनिन् “गठबन्धन लामो समय जाने स्थिति बनेको भन्दै प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभएको छ ।” मन्त्री शर्माले प्रधानमन्त्री दाहाल र नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकारात्मक रहेको बताइन् । रासस