काठमाडौँ, ६ असारः सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री साह कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताएकी छन् ।

प्रतिनिधि सभा बैठकमा बिहीबार मन्त्री साहले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताइन् । थप एक लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने भन्दै मलको आवश्यकता पूरा हुने उनको भनाइ थियो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा २८ अर्ब ६७ करोड अनुदानका लागि विनियोजित बजेटबाट जम्मा ६ लाख मेट्रिक टन मलको लागि टेण्डर आह्वान भएको छ । २०८१ जेठ २८ सम्म तीन लाख ९० हजार मेट्रिक टन मल आयात भएकोमा तीन लाख ६७ हजार मेट्रिक टन मल बिक्री, वितरण भएको छ । गत वर्ष समेतको गरी ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ ।