दाङ। दाङका १० वटा स्थानीय तहमा करिब ६३ करोड बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदन २०८१ मा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा गरेर ६३ करोड ६१लाख बेरुजु देखाएको हो ।
जिल्लामा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका र कम दंगीसशरण गाउँपालिकामा बेरुजु छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/८० मा गरेको लेखा परीक्षणको प्रतिवेदनका आधारमा घोराही उपमहानगरपालिकाको १३ करोड ४९ लाख बेरुजु देखिएको छ । उपमहानगरपालिकाको पाँच अर्ब तीन करोड लेखा परीक्षण गर्दा १३ करोड ४९ लाख बेरुजु देखिएको हो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको १३ करोड २४ लाख बेरुजु रहेको छ । तुलसीपुर उपमहानगरपालिकाको चार अर्ब १९ करोडको लेखा परीक्षण गरिएकोमा १३ करोड २४ लाख बेरुजु देखिएको छ । लमही नगरपालिकाको आठ करोड ३१ लाख बेरुजु छ । लमही नगरपालिकाको दुई अर्ब १३ करोडको लेखा परीक्षण गरिएकोमा आठ करोड ३१ लाख बेरुजु देखिएको छ ।
त्यसैगरी गढवा गाउँपालिकाको छ करोड ४२ लाख बेरुजु छ । गाउँपालिकाको एक अर्ब ७५ करोडको लेखा परीक्षण गर्दा छ करोड ४२ लाख रुपियाँ बेरुजु देखिएको छ । दङ्गीशरण गाउँपालिकाको दुई करोड १४ लाख, बङ्गलाचुली गाउँपालिकाको चार करोड २० लाख, बबई गाउँपालिकाको बेरुजु दुई करोड ५२ लाख, राजपुर गाउँपालिकाको बेरुजु पाँच करोड देखिएको छ । प्रतिवेदन अनुसार राप्ती गाउँपालिकाको चार करोड ८९ लाख, शान्तिनगर गाउँपालिकाको बेरुजु तीन करोड ३६ लाख देखिएको छ ।
