रुकुम। मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो जीप मुसिकोट नगरपालिका–१ नेपानेमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिएका छन् । घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी दुर्घटनामा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल घाइते भएका छन् । उनीहरूमध्ये विक र खनालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खसेको छ ।