काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले यसै साताबाट काम थाल्ने भएको छ ।

एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको सभापतित्वमा गठित समितिले यसै सातादेखि काम थाल्ने तयारी गरेको छ । सभापति थापाले बुधबार सभामुख देवराज घिमिरेसँग समिति सञ्चालनको विषयमा छलफल गरेका छन् । उनले समिति सदस्यसँग पनि परामर्श गरेका छन् ।

सहकारी अपचलनमा प्रमुख प्रतिपक्षी कांग्रेससहित विपक्षी दलहरूले संसदीय छानबिन समिति मागेर संसद् अवरुद्ध गरेपछि सरकारको सहमतिमा प्रतिनिधिसभाले मंगलबार सात सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा सभापति थापासहित एमालेबाट सरिता भुसाल, कांग्रेसबाट बद्री पाण्डे र ईश्वरी न्यौपाने, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य छन् ।