काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । आज अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे ।
सरकारले ल्याएको बजेटमध्ये सबैभन्दा बढी चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । जुन कूल बजेटको ६१ दशमलव ३१ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री पुनले बताए । जुन कूल बजेटको १८ दशमलव ९७ प्रतिशत हो ।
त्यसैगरी वित्तीयतर्फ कुल विनियोजन बजेटको तीन खर्ब ६७ अर्ब १८ करोड अर्थात १९ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
आलु, प्याज र स्याउमा कर घट्यो, मदिरा, सुर्ती र चुरोटमा कर बढ्यो
सरकारले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छ । उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरिएको छ ।
मदिरा, बियर, सुर्ती र चुरोटमा लगाइएको अन्तः शुल्कको दरमा वृद्धि गरिएको छ । त्यस्तै, मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोबारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी तीस लाख पुर्याएको छ । पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाइएको छ ।
