सुर्खेत । जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले कालीकोटका रजबहादुर मल्ल हत्या प्रकरणमा मुछिएकी माओवादी केन्द्रको भ्रातृ संगठन, अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहसहित पाँच जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययनपछि जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतका सूचना अधिकारी सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीका अनुसार अभियोग लागेका अखिल क्रान्तिकारीकी अध्यक्षसमेत रहेकी कालीकोट महावै गाउँपालिकाकी प्रतिमा भन्ने पञ्चा सिंहसहित गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाँडाचक्र नगरपालिकाका सुभाष भन्ने वीरबहादुर मल्ल र अली अशोक भन्ने अली कार्कीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो।

२०६५ सालमा सुर्खेतको वीरेन्द्रनगरमा रहेको जननमुना माध्यमिक विद्यालयमा अध्ययनरत कालीकोटको साविक पाखा गाविसका १७ बर्षीय रजबहादुर मल्लको विवादका क्रममा मृत्यु भएको थियो। रजबहादुरको हत्या भएको भन्दै पञ्चा सिंहसहित ६ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको थियो।