जुम्ला । हिमाली जिल्ला जुम्लामा यो वर्ष खासै हिउँ परेन । लामो समयसम्म पानी नपरेर खडेरी लाग्दा जुम्लाको मुख्य आयस्रोतका रूपमा उत्पादन हुने स्याउ बाली नष्ट हुन लागेको छ । साउन–भदौमा पाक्ने स्याउका फूल बोटमै सुक्न थालेका छन् । कृषि क्यालेन्डरअनुसार हिउँदे सिजनका गहुँ, जौ मंसिरमा रोपिन्छ । हिउँदे बाली राम्रो उत्पादन हुन पुस–माघमा हिमपात हुनुपर्छ । पुसमा परेको हिउँले कृषि उत्पादन बढ्ने तथा स्याउ बगैँचालाई पर्याप्त सिँचाइ पुग्छ ।
तातोपानी गाउँपालिका–४ का वडाध्यक्ष अमरबहादुर रोकायाले सुक्खा खडेरीसहितको तुवाँलोले कृषि बालीसहित मानव जीवनसमेत प्रभावित भएको बताए । उनले भने, ‘स्याउका फूल बोटमै सुकेका छन् । सुक्खा खडेरीले ९० प्रतिशत स्याउको फूल झरेको छ ।’
तातोपानी गाउँपालिका–४ मा पाँच सय ६५ घरधुरीमध्ये चार सय ५० घरधुरीमा न्यूनतम् प्रतिघरधुरीले एक सय ५० स्याउका बिरुवा रोपेका छन् । जिल्ला कृषि कार्यालय जुम्लाको तथ्यांकअनुसार जुम्लामा ४२ सय ५० हेक्टर जमिनमा स्याउखेती विस्तार भएको छ ।
६–७ वर्षअघिसम्म बर्सेनि पुसमा भारी हिमपात हुने कर्णालीमा पछिल्लो तीन–चार वर्षयता निकै कम हिमपात हुन लागेको छ । सामान्य परेको हिउँले बालीनालीलाई सिँचाइ नपुग्ने भएर चैत–वैशाखमा सुक्खा खडेरीले कृषिजन्य वस्तु सखाप पार्न थालेको छ ।
पछिल्लो दुई वर्षमा स्याउ उत्पादनमा पनि अत्यधिक ह्रास आएको छ । ०७९ मा १९ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा ०८० मा ४० प्रतिशत कमी आएको थियो । यो वर्ष अझ बढी उत्पादन घट्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जिल्ला कार्यालयका प्रमुख खेमराज साहीले बताए । खडेरी र सिँचाइ नभएका कारण स्याउ उत्पानदनमा हरेक वर्ष ५० प्रतिशतसम्म कमी आएको उनको भनाइ छ ।
पातारासी गाउँपालिका–७, रिनी गाउँका शेर बुढाले दुई–तीन वर्षयता समयमै हिउँ नपरेका कारण बाली नसप्रिएको बताए । उनले भने, ‘दुई–तीन वर्षपहिलेसम्म १०–१२ बोराका दरले आलु, मकै, जौ, गहुँ उत्पादन हुन्थ्यो । त्यसले चार–पाँच महिना परिवार पालिन्थ्यो । तर, पछिल्ला वर्षमा समयमै हिउँ नपर्नाले उत्पादन घटेको छ । ५–६ बोराभन्दा बढी उत्पादन बढ्दैन ।’ यस्तै, तातोपानी गाउँपालिका–२ का किसान दत्त बुढाले १४–१५ बोरा उत्पादन हुने मार्सी धान अहिले घटेर पाँच–सात बोरामा झरेको गुनासो गरे ।
अगुवा किसान रामकृष्ण बुढ्थापाले भने, ‘उत्पादन हुने ठाउँ मात्रै भएर भएन । काम गर्ने जनशक्ति चाहियो । युवा सबै खाडीमा छन् । सरकारको नीति उत्पादनमुखी हुनुको साटो वितरणमुखी छ । कृषिप्रधान देशको विडम्बना यही हो ।’
जुम्लाको खेतीयोग्य जमिन ३८ हजार सात सय ८६ हेक्टरमध्ये ३६ हजार चार सय ३५ हेक्टरमा खेती भइरहेको छ । त्यसमध्ये तीन हजार ६ सय ५० हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको कृषि अधिकृत लक्षीराम महतले बताए । तीनै तहका सरकारले कृषिमा पर्याप्त लगानी नगर्नु, जलवायु परिवर्तनले समयमै हिमपात र बर्सात नहुनुलगायतका कारण उत्पादन घट्दै गएको उनले बताए । नयाँ पत्रिकाबाट
