दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखा लुम्बिनी प्रदेशकै उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले बुधावार आफ्नो चौथो साधारणसभा एवं तेस्रो अधिवेशनमा दाङ शाखालाई प्रदेशकै उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको हो ।

भालुवाङमा सम्पन्न चौथो साधारणसभा एवं तेस्रो अधिवेशनमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री जोखबहादुर महराले शाखा उपाध्यक्ष सन्तोष सुवेदीलगायत नेपाल पत्रकार महासंघ दाङ शाखाका कार्यसमितिका पदाधिकारीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । सो अवसरमा शाखाका महिला उपाध्यक्ष बसुन्धरा गौतमलाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री महराले पत्रकारले आशावादी सञ्चार गर्न आवश्यकता औल्याए । पछिल्लो समय जनतामा बढिरहेको नकारात्मकतालाई वास्तविकतामा बदल्ने काम पत्रकारले गर्नुपर्ने भन्दै महराले भने, ‘सरकारको जय–जयकार होइन, रचनात्मक हिसाबले सरकारको कमीकमजोरी औँल्याउँदै सुझाव दिनुपर्छ । पत्रकारले जनतामा निराशा बाँड्ने काम हुनुहुन्न ।’