तुलसीपुर । अहिले कक्षा १२ को परीक्षा सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिकाभित्र ११ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । नगर प्रमुखसहितको एउटा र परीक्षा बोर्ड तथा शिक्षा विकास तथा समन्वय इकाईबाट आउने टोलीसँग अनुगमन तथा निरीक्षणमा जाने एउटा गरी तुलसीपुर उपमहानगरपालिकाले दुईवटा निरीक्षण तथा अनुगमन टोली बनाएको छ । यो तीन दिनमा दुबै टोलीले पालिकाभित्रका सबैजसो परीक्षाकेन्द्रको अनुगमन गरिसकेको छ । यी सबै परीक्षा केन्द्रहरुको अवस्था हेर्दा मोवाइल चिटिङको अवस्था डरलाग्दो देखिएको शिक्षा अधिकृत मनबहादुर खड्काले जानकारी दिनुभयो ।

‘संख्याका आधारमा धेरै थोरै होला तर अनुगमन गर्दा सबै केन्द्रका परीक्षा हलभित्र मोबाइल भेटिएका छन् । यसको अर्थ के हो भने मोबाइल चिटिङबाट कोही पनि विद्यालय अछुतो छैनन् । अहिले तुलसीपुर उपमहानगरपालिकामा ११ वटा परीक्षा केन्द्र छन् । जनता संस्कृत मावि बिजौरी, गोरखा मावि, पब्लिक ज्ञानज्योति, राप्ती बबई क्याम्पस, महेन्द्र मावि, मावि सेन्टर, अरनिको मावि, हिमाल एकेडेमी, गुरुजजुर मावि, मावि अश्वारा र लिटिल हेवनमा १२ कक्षाको वार्षिक परीक्षा चलिरहेको छ । यी सबै केन्द्रमा मोवाइल एप्सको प्रयोगबाट चिटिङ भइरहेको अनुगमनका क्रममा भेटिएको छ । मोवाइलमार्फत विभिन्न एप्लिकेशनहरुमा गु्रप बनाएर विद्यार्थीले प्रश्नपत्र पठाउने र त्यो गु्रपमा जोडिएका अन्य व्यक्तिहरुले उत्तर पठाउने गरेका छन्’– उहाँले भन्नुभयो– ‘केही विद्यार्थीहरु आफ्नो क्षमताले परीक्षा दिइरहेका पनि छन् । मोबाइल चिटिङको समस्याले उनीहरुलाई पनि डिस्टर्व गरिरहेको छ । अनुगमनलाई कडाइ गरिएपछि अहिले ती गु्रपमा जोडिएकाहरुको पनि वास्तविक नाम छैन । अन्य विभिन्न भाषाहरुबाट विभिन्न खाले नाम राखेर जोडिएको देखिन्छ । अनौठो कुरा के भने, ती विद्यार्थीहरुलाई मोवाइल नै बोकेर परीक्षाहलमा पस्ने वातावरण कसले बनाइरहेको छ रु  हामीले खोज्नुपर्ने विषय बनेको छ ।’

यो बेथितिबारे राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले सोमबार नै विज्ञप्ती जारी गरेर सचेत गराएको छ । विज्ञप्तिमा भनिएको छ– ‘विभिन्न तहबाट हुने अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत कसैले मोबाइल साथमा राखेको वा प्रयोग गरेको पाइएमा नियमानुसार कारवाही हुने व्यहोरा पुनः जानकारी गराइएको छ । साथै केन्द्राध्यक्षज्यूहरूले सोहीअनुसार गर्न÷गराउनुहुन निर्देशन गरिन्छ ।’ तर तुलसीपुर उपमहानगरपालिकाभित्रका परीक्षा केन्द्रमा परीक्षाको तेस्रो दिन मंगलबार गरिएको अनुगमनमा एक सय छ थानबढी मोबाइल जफत भएका छन् । त्यति मात्रै होइन, परीक्षाको पहिलो र दोस्रो दिन पनि उत्तिकै मात्रामा मोबाइल भेटिएका छन् । हालसम्म दुई सय ७३ थान मोवाइल भेटिएका र ती मोबाइल केही विद्यार्थीले चिट हेर्दै गरेको अवस्थामा त केही लुकाइराखेको अवस्थामा फेला परेको तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिनुभयो । ‘यो समस्या पहिलेदेखि नै थियो । यसपालि नियन्त्रणको प्रयास गरेका छौं’– भण्डारीले भन्नुभयो ।

के विद्यार्थीले बोकेका ती मोवाइल परीक्षा केन्द्र वा हलमा प्रवेश गर्दा नै जाँच गरेर नियन्त्रणमा लिन सकिन्न रु  १÷२ वटा मोबाइल भेटिनु संयोग हुन सक्ला तर एउटै केन्द्रमा एक सयबढी मोबाइल भेटिनुलाई संयोग मात्रै मान्न सकिन्छ र रु  परीक्षा बोर्डले विज्ञप्ति जारी गर्दासमेत केन्द्राध्यक्षहरु किन निरीह छन् रु  अहिलेको परिस्थितिमा उब्जिएका प्रश्न यिनै हुन् । उसो त परीक्षा निरीक्षकले पनि चाहेको खण्डमा कम्तिमा आफूले निरीक्षण गरिरहेको कक्षालाई मर्यादित बनाउन सक्छन् । यद्यपि आफ्नै विद्यालयका सहकर्मीहरु तथा अग्रज शिक्षकहरुको प्रभावका कारण त्यसो गर्न नसकिएको एक शिक्षकले बताए । ‘आफ्नै सहकर्मीहरुले तपाइँको कक्षामा मेरो भाइ, भतिज या कुनै नाता पर्ने मान्छे छ, यस्सो हेर्न थाल्यो भने नखोस्दिनुहोला भन्छन् । सिधै हुन्न कसरी भन्नु रु  होइन भने आफ्नो कार्यक्षमतामा कसैले प्रश्न उठाएको सुन्न मन कसलाई हुन्छ र रु ’– उनले भने– ‘प्रशासनबाट पनि निरीक्षकलाई जे भेट्नुहुन्छ, खोस्नुस् । यदि अनुगमनका क्रममा भेटियो भने जवाफदेही तपाइँ हुनुहुन्छ । भन्ने आदेश दिने हो भने विद्यार्थीले केन्द्रभित्र लगेको मोबाइल निरीक्षकले हलभित्र नियन्त्रणमा लिएर परीक्षा मर्यादित बनाउन सक्छन् ।’ आफू पटक–पटक विभिन्न तहको परीक्षामा निरीक्षक बस्दा यी समस्याहरु भोगेको भन्दै उनले यो कुनै विद्यालय विशेषको गतिविधि मात्रै नभएर प्रवृत्ति नै भएकोले यसको अन्त्य गर्न सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण हुनुपर्ने बताए ।

केन्द्राध्यक्ष र निरीक्षकलाई कालोसूचीमा राख्छौं : प्रजिअ

परीक्षा चलिरहेको हलबाट बरामद भएका मोबाइलको जाँच गर्दा मोबाइलमा विभिन्न ग्रुपहरु बनाएर प्रश्नपत्र र उत्तर आदानप्रदान गर्ने दुईजनालाई मंगलवार नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनुभयो ।

‘ती दुईजना जफत भएका मोबाइलमा भेटिएका प्रमाणका आधारमा पक्राउ परेका हुन् । हाम्रो अनुमानअनुसार पक्कै पढाउने मास्टर नै हुन् तर प्रहरीले बाँकी छानबिन गरी प्रमाण संकलन गर्दैछ । दोषी पाइए कानुनअनुसार कारवाही हुन्छ’– उहाँले भन्नुभयो– ‘घोराही र देउखुरीमा यो प्रवृत्ति निकै कम छ । तुलसीपुरमा शिक्षकहरु नै यसमा संलग्न भएको देखियो । हालसम्म तीन सयबढी मोबाइल नियन्त्रणमा लिएका छौं । सबै मोबाइल छानबिन हुन्छ । दोषीहरु सबै कारवाहीको दायरामा आउँछन् । साथै लापरवाही भएका केन्द्रहरुका केन्द्राध्यक्ष र निरीक्षकहरुलाई पनि कालो सूचीमा राख्ने र विभागीय कारवाही तथा आगामी दिनमा केन्द्राध्यक्ष तथा निरीक्षक बन्न नपाउने गरी कारवाहीको तयारी गरिरहेका छौं ।’

मोबाइल प्रयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको छस् परीक्षा बोर्ड

परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैले पनि मोबाइल लैजान पाइँदैन । परीक्षा बोर्डले मोबाइल लैजान निषेध गरेको छ तर परीक्षा हलमा अनधिकृत व्यक्तिहरुले मोबाइल लगेको भन्दै आगामी दिनमा यसलाई रोक्न परीक्षा बोर्डले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भइरहेको कक्षा १२ को वार्षिक परीक्षालाई मर्यादित र व्यवस्थितरुपमा सञ्चालन गर्न परीक्षा हलमा केन्द्राध्यक्षबाहेक अन्य कसैलाई पनि मोबाइल लैजान पूर्णतः निषेध गरिएकोमा निर्देशन विपरीत केही परीक्षा केन्द्रहरूमा मोबाइलको अनाधिकृत प्रयोग भएको पाइएकोले त्यसतर्फ बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । केही परीक्षा केन्द्रमा मोबाइलको प्रयोग गरी अनियमित कार्य गर्ने परीक्षार्थीहरूसमेतको मोबाइल जफत गरी कारवाही गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदै अब उप्रान्त परीक्षा केन्द्रमा मोबाइल लैजान पूर्णतः निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइएको छ ।

नयाँ युगबोधबाट