काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन् । पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन्भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका हुन् ।
विद्यार्थीको अभावमा उक्त गाउँपालिका–७ स्थित विसं २०३२ मा स्थापित स्वस्थानी माध्यमिक विद्यालय २०८० साल साउन महिनाबाट बन्द भयो । गाउँपालिका कार्यालयले शिक्षक र विद्यार्थीको अनुपात नपुगेको भन्दै नजिकको सृजनशील माविमा विद्यार्थीलाई अध्ययन गराउने जनाउँदै स्वस्थानी मावि बन्द गर्ने निर्णय गरेको थियो । सो विद्यालयमा चालु शैक्षिक सत्रका लागि ३५ जना विद्यार्थी भर्ना भएका थिए । “विद्यार्थी नहुँदा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि विद्यालय बन्द गर्ने निर्णय गरियो”, गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले भने ।
उक्त गाउँपालिकाको स्वस्थानी माविझैँ अन्य प्राथमिक र निम्न माध्यमिक गरी २४ विद्यालय बन्द भइसकेका छन् । गाउँपालिका कार्यालयले नै विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि निर्णय गरी विद्यालय बन्द (स्थगन) गराइएको चौलागाईले बताउनुभयो । उनका अनुसार नौवटा वडा अवस्थित गाउँपालिकाका १२ मावि तहका विद्यालयमध्ये हाल दश सञ्चालनमा छन् । गाउँपालिकाको मावि तहका स्वस्थानी र धुसेनी ग्राम विकास बन्द गरिएको हो ।
गाउँपालिकाका शिक्षा शाखाप्रमुख कालीप्रसाद पाण्डेका अनुसार गाउँपालिकामा प्राथमिक तहका १५ विद्यालय बन्द गरिएका छन् । यस्तै, आधारभूत तहका आठवटा विद्यालय बन्द छन् । विद्यार्थीको सङ्ख्या बर्सेनि घटेपछि गाउँपालिकाले केही विद्यालयको तह घटुवासमेत गरेको छ । आगामी शैक्षिकसत्रबाट गाउँपालिकाको दर्जनौँ विद्यालय बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।
स्वस्थानी माविलगायत विद्यालय बन्द भएपछि गाउँपालिकाले नजिको विद्यालय जनाउँदै तोकिदिएको विद्यालय जान पहिलेको भन्दा टाढा हिँडेर जानुपर्ने बाध्यतामा छन् । शिक्षा शाखाका अनुसार चालु शैक्षिकपत्रमा गाउँपालिकामा कक्षा १२ सम्म दुई हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । शैक्षिकसत्रको सुरुआतमा दुई हजार आठ सय भर्ना रहेकामा करिब छ सय विद्यार्थी ‘ड्रपआउट’का कारण घटेको अनुमान गरिएको छ ।
गाउँपालिकामा सबै तहमा चार सय १० जना शिक्षक कार्यरत छन् । शिक्षा ऐनअनुसार विद्यार्थी–शिक्षक अनुपात पहाडमा ४५–१, उपत्यकामा ५०–१ र हिमालमा ४०–१ रहने व्यवस्था छ । गाउँपालिकामा कक्षा ११ र १२ मा भर्ना भएका अधिकांश विद्यार्थी सङ्घीय राजधानी काठमाडौँ वा अन्यत्र गएको हुनसक्ने गाउँपालिकाले जनाएको छ आजको गोखापत्रमा खबर छ । शिक्षा शाखाका अनुसार हाल एसइई परीक्षामा गाउँपालिकाका दुई सय २७ विद्यार्थी सहभागी भएका छन् । विसं २०६७ सम्म सो गाउँपालिकामा करिब आठ हजार विद्यार्थी थिए ।
