काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम परामर्श सेवा खरिद कार्यमा उनीहरुले ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ गैरकानुनी रुपमा लाभ लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।

प्राधिकरणका तत्कालीन निर्देशक वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक रेवती राम पन्थ, सहायक निर्देशक सन्दीप अधिकारी, सहायक निर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, प्रतीक्षा पौडेल र नीराजन कोइरालाको कार्यबाट आफू तथा परामर्शदाता न्युमेरा जेभीलाई सो रकम गैरकानुनी लाभ गरी नेपाल सरकारलाई हानी नोक्सानी पुर्‍याएको आरोप लागेको छ ।

मुद्दामा कम्पनी न्योमेरा, मलेसिया, नमस्ते ग्लोबल, सिंगापुर, ओएसआइ डिजिटल प्रालि, इण्डियालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २३ बमोजिम बिगो रकम असुल हुन मागदाबी गरिएको छ ।