काठमाडौं । सरकारले इजरायलको कृषि क्षेत्रमा कामदार पठाउन रोक लगाएको छ । वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गरी तत्कालका लागि म्यानपावर कम्पनीबाट इजरायलका लागि कृषि क्षेत्रमा कामदार भर्ना प्रक्रिया स्थगित गर्दै रोक लगाएको हो ।
विभागले हाल ‘बीटूबी’को माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेकाले तत्कालका लागि कामदार पठाउन रोक लगाएको जनाएको छ ।
तर विभागले रुसमा जाने कामदारलाई भने श्रम स्वीकृति खुला गरेको छ । विभागले रुसमा श्रम स्वीकृति लिएर जाने नेपाली कामदार रसिया सेनामा भर्ना नभएको भन्दै स्वीकृति खुला गरेको हो । विभागले गत पुस १९ मा रुस जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति दिन बन्द गरेको थियो ।
त्यसअघि नै रुसी सेनामा नेपाली भर्ती सम्बन्धमा अध्ययन गर्न श्रम मन्त्रालयले मंसिर १४ मा अध्ययन टोली गठन गरेको थियो । टोलीले श्रम स्वीकृति लिई गएकाहरू रुसी सेनामा भर्ती नभएको प्रतिवेदन बुझाएको थियो ।
