काठमाडौं । सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सत्ता गठबन्धनको सम्बन्ध चिसिदै गएपछि सुधारको प्रयासका लागि बस्ने भनिएको बैठक स्थगित भएको हो ।

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्र र नेपाली कांग्रेसले छुट्टाछुट्टै उम्मेद्वारी दिने तयारी गरेपछि गठबन्धनभित्र संकट उत्पन्न भएको हो। यही कारणले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली नजिकिएका छन्।

प्रधानमन्त्री र ओलीबीच राष्ट्रियसभा अध्यक्षको चयन, टिआरसी विधयेक र नयाँ गठबन्धन बनाउनेबारे समेत पटकपटक छलफल भएको छ। कांग्रेससँग सम्बन्ध चिसिदै गएपछि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर नयाँ समीकरण बनाउने गृहकार्य थालेका छन् ।