सल्यान । सल्यानको छत्रेश्वरी सतिपिठमा महाशिवरात्रीको दिन हुने पूजाअर्चना र मेलालाई व्यवस्थित बनाउने विषयमा बैठक सम्पन्न भएको छ । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री सहित आइतबार छत्रेश्वरी सतिपिठ क्षेत्र विकास समितिको बैठक सम्पन्न भएको हो ।
महाशिवरात्रीको दिनमा छत्रेश्वरीमा देशका विभिन्न स्थानबाट हजारौँ भक्तजन तथा दर्शनार्थीहरु आउने भएकाले आवश्यक व्यवस्थापनका लागि स्थानीय सरकारका प्रतिनिधी, सुरक्षा निकाय तथा सरोकारवालाहरुको उपस्थितीमा बैठक बसेर महत्वपूर्ण निर्णयहरु गरिएको समितिका अध्यक्ष प्रेम बहादुर भण्डारीले जानकारी दिए ।
छत्रेश्वरी गाउँपालिका ६ स्थित मन्दिर सम्म पुग्ने सडकको स्तरोन्नती, सुरक्षा प्रवन्ध, स्वयमसेवक परिचालन, सवारी पार्कीङ, भण्डारा सञ्चालन, सहज रुपमा पुजा र दर्शन लगाएतको व्यवस्थापनका लागि छलफल र निर्णय गरिएको उनले बताए । धार्मिक आस्थाको केन्द्र छत्रेश्वरीको संरक्षण, विकास र प्रवद्र्धनका लागि विगतदेखि नै स्थानीय सरकारले योजनाबद्ध काम गरिरहेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले यीि फागुन २५ गते लाग्ने विशेष मेलालाई व्यवस्थित बनाउन सबैको चासो र मिहेनत आवश्यक रहेको बताए ।
मेला व्यवस्थापनका लागि गाउँपालिकाले यस वर्ष पनि सहयोग गर्ने भन्दै उनले मेलामा गाँजा, भाङ, धतुरोजस्ता नशालु पदार्थ सेवनलाई कडाईका साथ प्रतिबन्ध गरिने बताए । यसमा प्रहरीले मसिनो ढंगले निगरानी गर्ने र नशालु पदार्ध प्रयोगकर्ता र विक्रिवितरण गर्ने सबैलाई तत्काल कानुनी कारवाहीमा लैजाने बताएको छ ।
