काठमाडौं । दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी नपाएको भन्दै आन्दोलनमा उत्रिएका दूध उत्पादक किसान र सरकार बीच पाँच बुँदे सहमति भएको छ । शनिवार बेलुका भएको वार्तामा पाँच बुँदे सहमति भएको हो । यो सँगै किसानहरुले आन्दोलनका कार्यक्रम स्थिगित गरेका छन् ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आउँदो चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले बताए ।

उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाइ मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी सङ्घले राखेका माग सम्बोधनका लागि पहल गर्ने पनि सहमति भएको बताइएको छ । किसानहरुले उत्पादन गरेको दुधलाई सडकमै पोखेर आन्दोलनमा उत्रिएका थिए ।