काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीले गरेको कार्यविभाजनमा असहमति जनाएका छन् । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले नेताहरुको कार्यविभाजन गरेको थियो । सो बैठकमा उपमहासचिव शर्माले कार्यविभाजनप्रति आफ्नो असहमति राखेका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले पार्टीको निर्णयमा आफूले असहमति दर्ज गरेको बताए । कार्यविभाजन पार्टी निर्माण गर्ने उद्देश्यसहित नभएको उनको भनाइ छ । उपमहासचिव शर्माले विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने आफू लगायतलाई जिम्मेवारीविहिन बनाइएको छ ।
‘‘मैले आफ्नो तर्फबाट निर्णयहरुमा केही असहमतिहरु दर्ज गरेको छु । विशेषगरी कार्यविभाजन जसरी गरियो, त्यो कार्यविभाजन सही भएन । पार्टी निर्माणलाई उद्देश्य राखेर भएन । विधान अधिवेशनको ह्याङओभरलाई लिएर कार्यविभाजन गरियो ।,’’ उपमहासचिव शर्माले भने, ‘‘विधान अधिवेशनमा प्रत्यक्ष निर्वाचित पदाधिकारी हुनुपर्छ भन्ने मत राख्ने म लगायतलाई जिम्मेवारीविहीन बनाइएको छ ।”
त्यस्तै सुदूरपश्चिम प्रदेशमा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रीय सदस्यलाई सह–इन्चार्ज बनाएको, सुदूरपश्चिम संसदीय दलको विवादलाई सन्तुलित रुपमा नटुङ्ग्याएको प्रति पनि आफ्नो असहमति रहेको उनले बताए ।











