दाङ । दाङमा यही फागुन १३ गतेदेखि दादुरा रुवेला खोप अभियान २०८०/८१ सञ्चालन हुने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय दाङले मंगलवार जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरुसँग छलफल गरी खोप अभियानलाई कसरी प्रभावकारी ढंगले सफल पार्ने बारेमा छलफल गरेको छ ।
जिल्लामा दुई चरणमा गरी खोप अभियान सञ्चालन गरिने कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन किशोर आचार्यले जानकारी दिए । देश व्यापी रुपमा सञ्चालन हुने अभियान जिल्लामा १३ गतेदेखि शुरु हुने र पहिलो चरणमा घोराहीलगायतका क्षेत्रमा दादुरा रुवेलाको खोप लगाइने छ भने दोस्रो चरणमा २३ गतेदेखि तुलसीपुरलगायत पश्चिम क्षेत्रमा खोप लगाइने छ ।
खोपका लागि विद्यालयदेखि विभिन्न क्षेत्रमा खोप केन्द्रको स्थापना गरिएको र खोप केन्द्रमा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुवेला खोप लगाइने आचार्यले बताए । नियमित खोपमा छुटेका देखि यो उमेर समूहका सबै बालबालिकालाई नछुटाइ खोप लगाइने छ ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्दु सुवेदीले खोप अभियानलाई सफल पार्न सञ्चारकर्मी लगायत सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै यसलाई सफल र प्रभावकारी बनाउन आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे । कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपमेयर हुमा कुमारी डिसीले घोराही उपमहानगरपालिकाले खोप अभियानलाई सफल पार्न आफ्नो क्षेत्रबाट सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रममा अभियानका बारेमा जानकारी दिदै जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाहीले सरकारले सन् २०२६ सम्ममा नेपालमा दादुरा रुवेला रोग निवारण गर्ने लक्ष्य राखेको र सोही अन्तर्गत यो अभियान सञ्चालन भएकाले यसले हामी र हाम्रा बालबालिकालाई दादुरा रुवेलाबाट बचाउन सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोस सुवेदीले यो अभियानमा सञ्चारकर्मीहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध गरे । कार्यक्रमको सहजीकरण जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत वामदेव शर्माले गरेका थिए ।











